जता गएपनि दुःख मात्रै पाएँ, अब म कहाँ जाउँ ?’

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

 





जाजरकोट, फागुन ११ – सानै उमेरमा गम्भीर घरेलु हिंसामा परेकी एक किशोरी न्याय र संरक्षणको खोजी गर्दै महिला तथा बालबालिका कार्यालय जाजरकोटमा पुगेकी छन् । १८ वर्षको उमेरमा दुई पटक विवाह गरीकी रुकुम मुसिकोटकी माया गिरी दुवै पतिको दिनहुँको कुटाईबाट आक्रान्त भएपछि न्यायको खोजी गर्दै बालबालिका कार्यालय आएकी हुन् ।
मायाका आफन्तले उनको ६ वर्षअघि १२ वर्षको उमेरमै जाजरकोट झाप्राको काफ्लाका गोविन्द विटालुसँग विवाह गरिदिएका थिए । माइती घर रुकुमको मुसिकोट खलंगा भएपनि बाबा आमा कमाई गर्न भारतको चमउली पटेला भन्ने ठाँउमा गएकाले मायाको बाल्यकाल उतै बित्यो । बाबुले अर्की श्रीमती लिएर भागेपछि आमाले पनि दोस्रो विवाह गरिन् । त्यसपछि कान्छा बाबुले भारतमै रहेका जाजरकोटको काफ्लाका गोविन्द विटालुसँग मायाको विवाह गरिदिए । विवाह भनेको के हो भन्ने थाह नै नपाउने उमेरमा विवाह गर्न बाध्य भएकी मायालाई गोविन्दले आफ्नो घर जाजरकोट लिएर आएका थिए ।
दुई वर्षसम्म श्रीमानले राम्रै गरेको तर त्यसपछि गोविन्दले आफ्ना ६० वर्षका मामा नेप्टो कामीसँग यौन सम्बन्ध राख्न दबाब दिने गरेको मायाले बताइन् । तर आफूले नमानेपछि दिनहुँ कुटपिट गर्ने, पासो लगाएर मारिदिन्छु भन्दै पटक पटक यातना दिएको मायाको भनाई छ । राम्रोसँग खान पनि नदिएपछि उनी छिमेकी राजु शाहको घरमा शरणमा लिइन गइन् ।
शाहको घरमा एक वर्ष मजदुरी गरेर बसेको मायाले बताइन् । त्यसपछि उनले गाउँकै प्रेम गन्धर्बसँग विवाह गरिन् । अब त राम्रो होला भनेकी मायाले प्रेमबाट पनि उस्तै पीडा पाइन् । प्रेमले विवाह भएको एक वर्षसम्म राम्रै व्यवहार गरेको तर त्यसपछि भने कुटपिट गर्न सुरु गरेको मायाले बताइन् ।
उनले भनिन् ‘दिनहुँ कुटपिट गर्ने, गाली गर्ने, यौन हिंसा गर्ने तथा खानलाउन पनि नदिएपछि न्याय खोज्दै यहाँ आएकी हुँ ।’ महिला तथा बालबालिका कार्यालयमा आउनु अघि मायालाई झाप्रा मछाईनका शिक्षक जनक बस्नेतले दुई महिना संरक्षण दिनुभएको थियो ।
माया घर फर्कन नमानेपछि दलित नेटवर्क जाजरकोटका जिल्ला अध्यक्ष गोपाल नेपालीले सदरमुकाम ल्याएर महिला तथा बालबालिका कार्यालयमा बुझाइदिएका छन् । उनलाई आफ्नै बाबुको नाम पनि थाहा छैन । उनले भनिन् ‘रुकुमको मुसिकोट घर भन्ने थाह छ तर आफ्नै बाबुको नाम समेत थाह छैन । आमाको नाम भने निर्मला गिरी हो ।’ सानैमा बिहे गर्न बाध्य उनी शिक्षा लिनबाट समेत वञ्चित भएको महिला तथा बालबालिका अधिकृत प्रज्ञा निरौलाले बताउनुभयो । घरेलु हिंसा पीडित किशोरी मायालाई काँहा राख्ने र न्याय कसरी दिने भन्ने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । दुवै श्रीमानसँग विवाह दर्ता पनि नभएकाले न्याय दिलाउन समस्या भएको अधिकृत निरौलाले बताउनुभयो । मायाका दुवै श्रीमानलाई खोजेर ल्याइदिन प्रहरीसँग आग्रह गरिएको निरौलाको भनाई छ ।
मायाले आफूसँग ‘मलाई बुबाको नाम पनि थाहा छैन । सानैमा बाध्यताले बिहे गरेँ । दुःख दिएपछि सुख होलाकी भनेर आफै अर्को बिहे गरेँ । तर जताबाट पनि दुःख मात्रै । अब म कहाँ जाउँ ? मेरो जाने ठाउँ कतै छैन । मलाई बचाउनु होस् ।’ भन्ने गरेको अधिकृत निरौलाले बताउनुभयो ।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment