काँग्रेसको ५१ जिल्लामा अधिवेशन सम्पन्न, कुन जिल्लामा को अघि (विवरणसहित)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा ५१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बारा र पर्सा जिल्लामा प्राविधिक कारणले बाँकी रहेका गाउँ अधिवेशन सकी क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए ।

बाँकी २४ जिल्लाको अधिवेशन फागुन १० गते भित्रै सम्पन्न गर्नेगरी निर्देशन दिएको काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । ‘फागुन २० गतेदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नामसूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देश गरिएको छ’ उनले भने ।

आइतबार सबै जिल्लामा दिवङ्गत सभापति कोइरालाको श्रद्धाञ्जलि सभा राखिएकाले जिल्ला अधिवेशन नहुने निर्वाचन समितिले जनाएको छ । बाँकी २४ वटै जिल्लामा फागुन १० गते सोमबार जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको सचिव श्रेष्ठले बताए ।

हालसम्म ६५ जिल्लाका २१० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । शनिबारसम्म सम्पन्न ५१ जिल्ला अधिवेशनबाट निर्वाचित भएका नेपाली काँग्रेसका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला बोक्सिङ, झापामा उद्धव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्वलप्रसाद बराल र धादिङमा रमेश धमला रहेका छन् ।

काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भएका छन् ।

मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, बैतडीमा नरेन्द्रसिंह थापा, डडेल्धुरामा कर्णबहादुर मल्ल, पाँचथरमा नवीन्द्र केरुङ, भोजपुरमा नन्दमणि राई, धनकुटामा अग्निप्रसाद पौडेल, नुवाकोटमा जगदीश्वरनरसिंह केसी, कपिलवस्तुमा सुरेन्द्रराज आचार्य, मुगुमा खड्गबहादुर शाही, कालिकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र बैतडीमा नगेन्द्रराज थापा सभापतिमा निर्वाचित भएका छन् ।

तेह्रथुममा गोविन्दप्रसाद ढुङ्गाना, काठमाडौँमा कृष्ण (सबुज) बानियाँ, ललितपुरमा मदन अमात्य, चितवनमा जीतनारायण श्रेष्ठ, पर्वतमा खिमप्रसाद भुसाल, रुकुममा प्रेमप्रकाश ओली, रोल्पामा अमरसिंह पुन, बर्दियामा सञ्जय गौतम, दाङमा कीर्तिबहादुर खड्का, इलाममा हिमालय कर्माचार्य, बागलुङमा दीपेन्द्रबहादुर थापा, जुम्लामा दीपबहादुर शाही, कैलालीमा नरनारायण साह, रामेछापमा लवश्री न्यौपाने, लमजुङमा भेषबहादुर पौडेल र सल्यानमा गणेश चन्द सभापतिमा निर्वाचित हुनुभएको समिति सचिव श्रेष्ठले जानकारी दिए । सङ्खुवासभाको निर्वाचनमा दुई उम्मेदवारका बीचमा मत बराबर भएकाले थप प्रक्रिया अघि बढाइने भएको छ । झापाका थापा, पाल्पाका राना र अर्घाखाँचीका खनाल सर्वसम्मत सभापति चुनिएका हुन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment